ॐ सहनाववतु । सह नौ भुनक्तु । सह वीर्यं करवावहै । तेजस्वीना वधीतमस्तु । मा विद्विषावहै ।। हामी संगै रहौं । संगै मिलेर भोजन गरौँ । मिलेर प्रगति गरौं । पुरुषार्थीहरूको सम्मान गरौं । हामी बीच कुनै प्रकारको शत्रुता नरहोस् । –ऋग्वेद


हिन्दू जागरणको आवश्यकता


वि.स. २०६३ को राजनैतिक परिवर्तनपछि नेपालमा धर्म वा आस्था परिवर्तन गराउने समूहको गतिविधि आक्रामकरूपमा बढेको छ । तराई, पहाड हिमाल सबैतिर धर्म–परिवर्तनकारी शक्तिहरूले आफ्नो धूर्ततापूर्ण उपस्थिति जनाएका छन् । के हिन्दू, के बौद्ध, के बोन्पो, के किराँती, के राउटे नेपालका सबै जातजातिहरू धर्मपरिवर्तनको कायरतापूर्ण षड्यन्त्रमा परेका छन् । खासगरी, हिमाली र उच्चहिमाली क्षेत्रमा धर्म–परिवर्तनकारी शक्तिहरूले आफ्नो सम्पूर्ण शक्ति लगाएका छन् । एउटा अनुसन्धानका अनुसार हरेक दिन कमसेकम दुईसयवटा व्यक्तिहरूलाई आफ्नो मूलधारको आस्थाबाट विचलन गरिन्छ र यो क्रम बढ्दो छ । यसैबीच, खाडीमुलुकमा काम गरेर फर्कनेहरू पनि धर्म–परिवर्तन गरेर फर्कने क्रम बढेको छ । देशको राजनैतिक जटिलताका कारण देशको ८१.३ प्रतिशत जनसंख्याले मान्ने ‘हिन्दू’ संस्कृतिउपर केही जनजाति, आदिवासी नेतृत्वबाट धार्मिक–समानता अथवा धर्म–निरपेक्षताका नाममा आक्रमण गर्ने क्रियाकलाप बढेको छ । तथाकथित जनयुद्ध ताका हिन्दू धर्मस्थल, संस्कृति केन्द्र (गुरुकुल, संस्कृत विश्वविद्यालय, गौहत्या) र आस्थाहरूमा आक्रमण गरिएको तथ्य कसैबाट लुकेको छैन भने प्रायोजितरूपमा हिन्दूधर्म र संस्कृतिका अनुयायीहरूलाई जातीयताका आधारमा तिमी ‘हिन्दू होइनौ’ भनेर हाकाहाकी हिन्दूधर्मप्रति घृणाको खेती गरिंदै छ । यस्तो निन्दनीय कार्यलाई जनताको करबाट राज्यसंयन्त्र नै खडा गरी ‘पहिचानको ट्याग’ भिराएर निरन्तरता दिइएको छ ।

परापूर्वकालदेखि नै नेपालमा आफ्नो मूलधारका भएका हिन्दू–समुदायले आफ्नो पहिचान, ऐतिहासिक गौरव र अधिकारलाई ‘विदेशी’ भनेर आरोप लगाउनेहरूप्रति राज्यको माया देख्दा आफूलाई दोस्रो दर्जाको नागरिक ठान्ने अवस्था आयो । यस्तो अवस्थामा, नेपालका रैथाने संस्कृतिको निरन्तरता र आफ्नो पहिचानको रक्षा गर्न एकत्रित भएका ‘चित्त दुखेका’ समुदायले ‘हिन्दू जागरण नेपाल’को निर्माण गरेका हुन् । यस संस्थाले आफ्ना गतिविधिलाई २०७० सालमा श्रीमद्भागवत प्रचार प्रसार सेवा संघ अन्तर्गत रहेर संचालन गरेको भए तापनि संघकै सक्रियतामा २०७१ सालमा जिल्ला प्रशासन कार्यालय काठमान्डौमा दर्ता गरेर ९९/०७१ दर्ता नम्बर प्राप्त गरेको छ |