हिन्दू जागरण नेपालको परिचय


हिन्दू जागरण नेपालको एउटा गैर–सरकारी संस्था हो । यसमा हिन्दू धर्म–संस्कृति र परम्परागत नेपाली समाजका मान्यताहरूलाई प्राथमिकता दिने र माया गर्ने जोसुकै सदस्य बन्न सक्छन् । यसमा धार्मिक, जातीयता, क्षेत्रीयताका र लिङ्गका आधारमा कुनै प्रकारको भेदभाव गरिने छैन ।

छुवाछुतका सवालमा हिन्दू जागरण नेपालको ‘ शून्य–सहनशीलता ‘ को स्पस्ट दिशा छ र जातजातिका आधारमा कुनै प्रकारको भेदभाव हुँदैन। यो सबै नेपालीहरूको साझा संस्था हो । हाल यसमा, हिन्दुत्व र नेपाली संस्कृतिलाई माया गर्ने र स्वधर्म रक्षाका लागि आतुर देश–विदेशका नेपालीहरूको संलग्नता छ । यसको राजनीतिमा कुनै चासो छैन तथापि छोटो वा लामो समयमा हिन्दू वा नेपालका प्रचलित धर्म–संस्कृतिका लागि हानीकारक हुने राजनैतिक स्तरका निर्णयहरूको यसले स–शक्त विरोध गर्नेछ ।

हिन्दू जागरण नेपालको जनतालाई आह्वान

हामी नेपालीहरू परापूर्वकालदेखि नै अत्यन्त मित्रता पूर्वक एकआपसमा सहकार्य गर्दै, सुख–दुखका साथी बन्दै आइरहेका थियौं र यो कायम पनि छ तर २०६३ को परिवर्तनपछि जातजाति, धर्म, लिङ्ग र वर्णका आधारमा नेपाली–नेपालीहरू बीच द्वन्द्व बढाउने कार्य भएको छ । यसले हामी सबै नेपालीहरू मर्माहत भएका छौँ । हामी द्वन्द्वमा होइन, सहकार्यमा विश्वास गर्छौं ।


हालका दिनहरूमा हरेक नेपालीहरू धर्म–परिवर्तनको मारमा परेका छन् । धर्म–परिवर्तनका कारण परिवारका सदस्यहरू अलग्गिएका छन् । धर्म–परिवर्तनका कारण समाजमा मन–मुटाव बढेको छ । नेपालका रैथाने संस्कृतिहरू, जातजातिको अस्तित्व संकटमा परेको छ । यसले दीर्घकालीन रूपमा देशको अखण्डतामा समेत असर पार्ने हुँदा, यस विरुद्ध गोलबन्द हुन सर्व–साधारणलाई आह्वान गरिन्छ ।

स्वधर्म र संस्कृतिका सबै भन्दा महत्वपूर्ण खम्वाहरू राष्ट्रिय र स्थानीयतहमा रहेका मठ–मन्दिर, गुम्वा, चैत्यहरू र तिनमा कार्यरत गुरू हुन् । धर्म–परिवर्तन रोक्न यी निकायहरूले ठूलो मद्दत गर्न सक्छन् भन्ने हाम्रो ठहर भएकोले धर्म परिवर्तन विरुद्ध र स्वधर्म रक्षाका लागि स्थानीयतहमा रहेका हरेक मन्दिर, मठ, गुम्बाका गुरू र सरोकारवाला समूह मिलेर कमसेकम महिनामा एकपटक स्वधर्मका बारेमा शिक्षाप्रदान गर्न हामी प्रेरित गर्छौं ।

हरेक मठ-मन्दिर वा गुम्वाहरूले आ–आफ्नो धर्म र संस्कृतिका विषयमा जागरुकता उत्पन्न गराउने र धर्मपरिवर्तनकारी शक्तिहरूको भण्डाफोर गर्ने कमसेकम एउटा ‘लिफलेट’ वा हाते सूचनापत्र छापेर सक्दो वितरण गर्न आह्वान गर्छौं ।

नेपालको अन्तरिम संविधान २०६३ को धर्म–सम्बन्धि महलले सर्वसाधारणको परम्परागत धर्म र संस्कृति तथा आस्था परिवर्तन गर्न नपाउने ब्यबस्था गरेको हुँदा धर्म–परिवर्तन गर्न प्रेरित गर्ने, धर्म–परिवर्तन गर्न प्रलोभन दिने, दवाव दिने, सुविधा दिएर धर्म–परिवर्तन गर्न उक्साउने र स्थानीय चाडवाड, देवीदेउता, रीतिरिवाजप्रति ‘शैतान’ भनेर अपमान बोल्नेका विरुद्ध पिडित पक्ष तथा गाउँ पालिका मार्फत् प्रहरी चौकीमा उजुरी हाल्न आह्वान गर्छौं ।

धर्म–परिवर्तनकारी शक्तिले नेपालमा धर्म–परिवर्तन गर्न-गराउन अन्तर्राष्ट्रिय सहयोग प्राप्त गरेको, नेताहरूलाई प्रलोभनमा पारी हामी विरुद्ध प्रयोग गर्न सक्ने खुबी भएको र हरेक तह र तप्कालाई किन्ने खुबी भएकोले ऊ ज्यादै शक्तिशाली छ । त्यसैले, यो शक्ति विरुद्ध लड्न धैर्यता, उत्साह, जाँगर र धनको पनि खाँचो पर्नेछ । अतः धर्म–परिवर्तनकारी शक्तिहरू विरुद्ध गोलवन्द हुन र यस कार्यमा तन,मन र धनले सहयोग पुर्याउन हार्दिक अनुरोध गर्छौं । अन्त्यमा, आफ्नो धर्म, संस्कृति र पहिचानलाई जोगाउन धर्म–परिवर्तनकारी शक्ति विरुद्ध गोलबन्द हुनुको विकल्प छैन । अतः हामी सबै मिलेर हाम्रो ‘सांस्कृतिक’ नेपाललाई सँधै–सँधैका लागि सुरक्षित राख्न आजै देखि प्रतिज्ञा गरौं ।